Wednesday, January 20, 2016

वर्ष २०१६ मा बलिउडका नयाँ अनुहार

बलिउडमा बर्सेनि सयौं चलचित्र प्रदर्शन हुन्छन् । तीमध्ये केही चलचित्र अत्यधिक सफल हुन्छन् भने केहीले औसत व्यवसाय गर्छन् । चलचित्र निर्माण एवं प्रदर्शनसँगै नयाँ–नयाँ अनुहारले बलिउडमा पदार्पण गर्ने क्रम जारी रहन्छ । वर्ष २०१६ मा प्रदर्शन हुने केही चलचित्रमार्फत करिब एक दर्जन नयाँ कलाकार बलिउडमा पदार्पण गर्दैछन् । 
हर्षवद्र्धन कपुर 
बलिउडका पुराना अभिनेता अनिल कपुरका छोरा तथा अभिनेत्री सोनम कपुरका कान्छा भाइ हर्षवद्र्धन कपुर २०१६ मा प्रदर्शन हुने चलचित्र ‘मिर्जिया’ मार्फत बलिउडमा पदार्पण गर्दैछन् । केही अघि सार्वजनिक भएको चलचित्रको टिजर तथा लोगोबाटै हर्षवद्र्धनले प्रशस्त प्रशंसा पाइसकेका छन् । आफ्नी दिदी सोनमको मार्गमा अघि बढेका हर्षवद्र्धनले अमेरिकाको क्यालिफोर्नियास्थित च्यापम्यान युनिभर्सिटीमा पटकथा लेखन तथा चलचित्र निर्माणसम्बन्धी अध्ययन गरेका हुन् । हर्षवद्र्धनले वर्ष २०१५ मा प्रदर्शन भएको चलचित्र ‘बम्बै भेल्भेट’ मा निर्देशक अनुराग कश्यपलाई सहायक निर्देशकका रूपमा साथ दिएका थिए । २५ वर्षीय हर्षवद्र्धन ५ फिट १० इन्च अग्ला छन् । 
दिलजित सिंह दोसाँझ
त्यसो त दिलजित सिंह दोसाँझ पञ्जाबी चलचित्रका सुपरस्टार तथा चर्चित गायक हुन् । पञ्जाबी दर्शकहरूमाझ उनी ‘दिलजित’ नामबाटै लोकप्रिय छन् । ब्लकबस्टर पञ्जाबी चलचित्र ‘जट एन्ड जुलिएट’ भाग १ र २, ‘पञ्जाब १९८४’, ‘जिने मेरो दिल लुटेया’, ‘डिस्को सिंह’ आदिमा अभिनय गरिसकेका यी अभिनेताले थुप्रै गीत गाएर विभिन्न एल्बमसमेत सार्वजनिक गरिसकेका छन् । ‘ब्याक टु बेसिक’ उनका लोकप्रिय एल्बमहरूमध्ये एक हो । रितेश देशमुखको चलचित्र ‘तेरे नाल लभ हो गया’ को ‘पीपा पीपा...’ मा पाश्र्व गायन गरेका दिलजितले ‘यमला पगला दिवाना–२’ तथा ‘मेरे डयाड कि मारुती’ का लागि पनि गीत गाएका छन् । वर्ष २०१६ मा उनी बलिउड चलचित्रमा पदार्पण गर्दैछन् । निर्देशक अभिषेक चौबेको आगामी हिन्दी चलचित्र ‘उडता पञ्जाब’ मार्फत बलिउडमा कदम राख्न लागेको यी गायक–अभिनेतालाई यो चलचित्रमा करिना कपुर, शाहिद कपुर तथा आलिया भट्टले साथ दिएका छन् । 
गिजेल ठकराल 
गिजेल ठकराल व्यवसायिक मोडल हुन् । ग्लाड्रग्स मोडल हन्टमा सहभागिता जनाएपछि चर्चामा आएकी ठकराल उक्त प्रतियोगितामा उत्कृष्ट ५ भित्र पर्नुका साथै मिस बेस्ट बडी तथा मिस पोटेन्सियलको उपाधि विजेतासमेत भइन् । सर्भाइभर इन्डिया तथा बेलकम बाजी मेहमान नवाजी रियालिटी शोमा समेत सहभागिता जनाइसकेकी ठकरालले बिग बोस–९ मा समेत प्रतिस्पर्धा जनाएकी थिइन् । बिग बोसमा उनी वाइल्ड कार्डमार्फत प्रवेश गरे पनि अहिले बाहिरिसकेकी छिन् । ठकराललाई वर्ष २०१६ मा बलिउड नायिकाका रूपमा समेत देख्न पाइनेछ । जनवरी २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘क्या कुल है हम–३’ मार्फत ठकराल अभिनेत्रीका रूपमा दर्शकमाझ आउन लागेकी हुन् । यो चलचित्रमा उनीसँगै तुषार कपुर तथा आफताब शिवदासानीले अभिनय गरेका छन् । 
माहिरा खान
माहिरा हफिज खान पाकिस्तानी अभिनेत्री हुन् । पाकिस्तानी चलचित्र तथा टेलिभिजनकी यी स्थापित अभिनेत्री विगतमा भिडियो जक्कीका रूपमा समेत सक्रिय थिइन् । सन् २०११ मा प्रदर्शन भएको पाकिस्तानी चलचित्र ‘बोल’ मा सह–अभिनेत्रीका रूपमा अभिनय गरेकी माहिराले उक्त भूमिकाका लागि लक्स स्टाइल एवार्ड पनि जितिन् । सन् २०१४ मा ‘बिन रोए’ मा अभिनय गरेपछि उनको करियरले गति लिएको थियो । त्यसअघि उनले पाकिस्तानी श्रृंखलाहरू ‘हमसफर’, ‘शेर–ए–जात’ तथा ‘सद्याक तुम्हारा’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यसबीच वर्ष २०१६ देखि उनी बलिउडका चलचित्रमा पदार्पण गर्दैछन् । शाहरूख खानको बहुप्रतिक्षित चलचित्र ‘रइस’ मार्फत उनी बलिउडमा प्रवेश गर्न लागेकी हुन् । 
वालुस्चा डि’सुजा 
वालुस्चा डि’सुजा भारतकी सफल मोडल हुन् । भारतका चर्चित फेसन शो कोरियोग्राफर मार्क रोबिन्सनकी पूर्वश्रीमती वालुस्चा वर्ष २०१६ देखि बलिउडका चलचित्रमा देखिन लागेकी छिन् । चलचित्रमा आउन अभिनयको प्रशिक्षणसमेत लिएकी वालुस्चाले शाहरूख खानको चलचित्र ‘फ्यान’ मार्फत अभिनेत्रीका रूपमा पदार्पण गर्न लागेकी हुन् । सन् २००० मै फेमिना मिस इन्डियाको उपाधिसमेत जितेकी ४२ वर्षीया वालुस्चाले ‘फ्यान’ पश्चात् अभिनयलाई निरन्तरता दिइरहने बताएकी छिन् । 
हर्षवद्र्धन राणे 
हर्षवद्र्धन राणे तेलुगु चलचित्रका अभिनेता हुन् । उनले अभिनय गरेका तेलुगु चलचित्र ‘थकिता थकिता’ (२०१०), ‘प्रेमा इश्क कढाल’ (२०१३) तथा ‘अनामिका’ (२०१४) अत्यन्त सफल मानिन्छन् । वर्ष २०१६ देखि हर्षवद्र्धनलाई बलिउडका चलचित्रमा देख्न पाइनेछ । यो वर्षको फेब्रुअरी ५ मा प्रदर्शन हुने चलचित्र ‘सनम तेरी कमस’ मार्फत उनी बलिउडमा पदार्पण गर्दैछन् । बिनय सप्रु तथा राधिका रावद्वारा निर्देशित यो रोमान्टिक चलचित्रपछि हर्षवद्र्धनले अभिनय गरेको दोस्रो चलचित्र ‘सत्रको शादी है’ पनि यही वर्ष प्रदर्शनमा आउनेछ । यो चलचित्र अभिनेता जोन अब्राहमले निर्माण गरेका हुन् । 
मावरा हक्केन
वर्ष २०१६ मा बलिउडमा पदार्पण गर्ने नयाँ अनुहारमा पाकिस्तानी नायिकाहरूको संख्या पनि बाक्लै देखिन्छ । ‘सनम तेरी कसम’ मार्फत पाकिस्तानी अभिनेत्री मावरा हक्केन बलिउडमा पदार्पण गर्दैछिन् । पाकिस्तानमा मोडल, भिडियो जक्की तथा अभिनेत्रीका रूपमा स्थापित मावराले दक्षिण भारतीय चलचित्रका अभिनेता हर्षवद्र्धन राणेसँग पदार्पण गर्न लागेकी हुन् । ‘सनम तेरी कसम’ रोमान्टिक चलचित्र हो, जसबाट मावरा र हर्षवद्र्धनको बलिउड भविष्य 
निर्धारण हुनेछ । 
पूजा हेगडे 
पूजा हेगडे भारतीय मोडल हुन् । सन् २०१० को मिस युनिभर्स इन्डियामा पूजाले सेकेन्ड रनर्स अपको उपाधि जितेकी थिइन् । पूजा सन् २०१२ मा तमिल चलचित्र ‘मुगामुदी’ मार्फत अभिनयमा पदार्पण गरेकी हुन् । त्यसपछि उनले केही तेलुगू चलचित्रमा अभिनय गरिन् । वर्ष २०१६ मा भने उनी आशुतोष गोवारीकरको ऐतिहासिक विषयमा आधारित चलचित्र ‘मोहेन्जो दारो’ मार्फत बलिउडमा पदार्पण गर्दैछिन् । 
फातिमा साना शेख
फातिमा साना शेख भारतीय नृत्यांगना तथा फोटोग्राफर हुन् । फातिमाले बालकलाकारका रूपमा केही चलचित्र तथा धारावाहिकमा अभिनय गरिसकेकी छिन् । सन् १९९७ मा ‘चाची ४२०’ मा सानी बालिका भारतीको भूमिका निर्वाह गरेर चर्चामा आएकी फातिमाले त्यसपछि केही चलचित्र तथा धारावाहिकमा काम गरिन् । यतिबेला उनलाई अभिनेता आमिर खानले बलिउडमा नायिकाका रूपमा पदार्पण गराउँदैछन् । चलचित्र ‘दंगल’ मा फातिमाले आमिर खानकी छोरीको भूमिका निर्वाह गरेकी छिन् । 
गौतम गुलाटी 
धारावाहिक ‘दिया और बाती हम’ का दर्शकका लागि गौतम गुलाटीको अनुहार नौलो लाग्दैन । आधा दर्जनभन्दा बढी धारावाहिकमा अभिनय गरिसकेका गौतमले थुप्रै रियालिटी शोमा काम गरिसकेका छन् । वर्ष २०१६ मा उनी टोनी डि’सुजाको चलचित्र ‘अजहर’ मार्फत बलिउडमा पदार्पण गर्दैछन् । भारतका पूर्वक्रिकेटर मोहम्मद अजहरूद्दिनको जीवन कथामा तयार भैरहेको यो चलचित्र मे १३ मा प्रदर्शन हुने तय छ । यो चलचित्रमा इमरान हासमीले अजहरूद्दिनको भूमिका निर्वाह गर्दैछन् भने गौतम पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् ।


No comments:

Post a Comment