लत्ताकपडादेखि खाद्यान्न जोहो गर्नेसम्म, घरमा घोर्ले खसीदेखि टेलिभिजन भित्र्याउनेसम्म, नयाँ मोबाइलदेखि गाडी फेर्नेसम्म सबैलाई चटारो छ, किनमेलको । त्यसैले त तराई बन्द र भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण सुस्ताएको बजार क्रमश: तङ्ग्रिँदैछ । ठूला सपिङ मलदेखि फुटपाथका खुद्रा व्यवसायी बेफुर्सदिला बन्दैछन् । शरद ऋतुको मनमोहक मौसममा खरिद–बिक्रीको यो उपक्रमले दसैंको आगमनको छनक दिएको छ ।
अहिले नयाँ लुगा लगाउन र मीठो खान दसैं कुरिरहनुपर्ने बाध्यता छैन । यद्यपि दसैंकै मेसोमा एक जोर नयाँ लुगा फेर्ने र इष्टमित्रको उपस्थितिमा मीठो–मसिनो खाने आममनोविज्ञानले यतिबेला बजारमा क्रय–विक्रयको उपक्रम दोहोरिन्छ । दसैं यस्तो अवसर पनि हो, जतिबेला नेपालीहरू आफ्नो घरमा सुख–समृद्धि भित्र्याउन उद्यत् रहन्छन् । कर्मचारीले पाउने ‘दसैं भत्ता’, रेमिट्यान्स आदि कारणले नगद प्रवाह पनि बढ्ने भएकाले यो लत्ताकपडा, खाद्यान्न मात्र होइन घरायसीदेखि विलासिताका सामग्री जोड्ने राम्रो साइत बन्छ ।
यसैकारण चोक–गल्लीका खुद्रा व्यवसायीदेखि ठूला कम्पनीहरू ‘दसैं अफर’ सहित प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्छन् । छुट, सेल, उपहार र विभिन्न अफरको होडबाजीले उपभोक्तालाई आकर्षित गर्छ । परिणमत: दसैंको तिथि नजिकिएसँगै बजारमा घुइँचो लाग्न थाल्छ । वर्षभरि हुने कारोबारको ३० प्रतिशत दसैं–तिहारमा हुने व्यवसायीहरूको भनाइ छ ।
यतिबेला राजधानीका असन, इन्द्रचोक, न्युरोडजस्ता होलसेल तथा खुद्रा पसलहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ । लुगाफाटो, खानेकुरा, पूजा सामग्री आदि खरिद गर्नेहरूको त्यहाँ निकै ठूलो चहलपहल देखिन्छ । दरबारमार्ग, पुतलीसडक, जावलाखेल जस्ता ब्रान्डेड आउटलेटमा ‘सेल’ सुरु भैसकेको छ । सामान्य दिनमा भन्दा ४० प्रतिशतसम्म छुट पाइने भएकाले ती आउटलेटमा ब्रान्डेड लुगाफाटा किन्ने उपभोक्ताको लस्कर लाग्न थालेको छ । चीनबाट आयात हुने लुगाफाटा तथा जुत्ता–चप्पल किन्नेहरूको घुइँचोले पुरानो बसपार्कको सिटी मार्केट, प्रदर्शनीमार्गस्थित हङकङ बजारमा छुट्टै रौनक थपेको छ । न्युरोड, विशालबजारलगायतका ज्वेलरी पसलहरूमा पनि मनग्य कारोबार हुन थालेको बताइन्छ । ठूला सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केटहरूमा पनि दसैंको रमझम सुरु भएको छ । राजधानीका आधा दर्जनभन्दा बढी मलले उपभोक्ताका निम्ति अतिरिक्त मनोरञ्जनसहित थुप्रै उपहार योजना सञ्चालनमा ल्याएका छन् । यस्तो होडबाजीमा अन्तर्राष्ट्रिय कम्पनीहरू छुट्ने कुरै भएन । यी कम्पनीहरूले दसैं–तिहारलाई लक्षित गरेर ‘वम्पर योजना’ सहित विशेष छुटमा आफ्ना उत्पादनलाई बजारमा प्रस्तुत गरेका छन् । यसमा मोबाइलदेखि अटोमोबाइलसम्म
सामेल छन् ।
सामेल छन् ।
घर रंगाउने होस् वा झ्याल–ढोकाको पर्दा, बेडकभर फेर्ने, दसैं राम्रो बहाना हो । त्यसैले यतिबेला घरेलु सजावटका सामग्रीको कारोबार पनि उचाइमा पुग्छ । भाँडावर्तन, विद्युतीय सामग्री, मरमसला, फलफूल तथा माछामासुको खरिद–बिक्री पनि चम्किएको छ ।
‘मीठो खाने’ यो पर्वमा मासुको कारोबार ह्वात्तै बढ्छ । यतिबेला राजधानीको बागबजार, बल्खुजस्ता ठाउँका खसीबजारको रौनक पनि बढेको छ । दसैंमा नेपालभर करिब २ अर्बको कुखुरा, खसी, बंगुर माछाको कारोबार हुने तथ्यांक छ ।
No comments:
Post a Comment