Friday, January 22, 2016

महान् मेसी

जुरिचको बलुन डि’योर गालामा यसपटक मेसीले नै फिफा बलुन डि’योर जित्छन् भनेर धेरैले पहिले नै अनुमान लगाएका थिए । आखिर भयो पनि त्यस्तै । उनले ४१.३३ प्रतिशत मत ल्याएर रोनाल्डो (२७.७६) र नेयमार ( ७.८६)लाई पछि पारे । पाँचौँपटक फिफा वर्ष खेलाडी भइसकेका कीर्तिमानी मेसीले २०१५ भरि सनसनीपूर्ण खेले । २०१५ को सुरुआतमै बार्सिलोनाले एक खेल हार्‍यो, जसमा मेसी सुरुआती ११ मा थिएनन् । त्यसपछिका खेलमा मेसीले यस्तो रवाफ देखाउन थाले कि त्यो बार्सिलोनाका लागि इतिहासकै दोस्रो सफल वर्ष साबित भयो ।
२०१५ भरि बार्सिलोनाका लागि ६ उपाधि जित्ने मौका थियो । यो सिजनको सुरुआतमा भएको स्पेनिस सुपरकपबाहेक सबै उपाधि जित्यो बार्सिलोनाले । वर्षभरिमा पाँच उपाधि जिताउन मेसीको ठूलो हात थियो । बार्सिलोनाका लागि २०१५ मा मेसीले ५३ खेलमा ४८ गोल र २३ एसिस्ट गर्न सके । यही तथ्यांकले मात्र पनि मेसीलाई २०१५ को वर्ष खेलाडीको बलियो दाबेदार बनाउँथ्यो । त्यसमाथि बार्सिलोना २०१५ को सबैभन्दा सफल क्लब पनि हो । यस्तोमा उनी वर्ष खेलाडी नबन्नु एउटा ठूलै आश्चर्य हुने थियो । फुटबल जगत्का गनिएका व्यक्तिले पनि यसै भन्थे ।

गएको वर्षभरि उनमा केही खोट लगाउने ठाउँ छ भने त्यो अर्जेन्टिनाले कोपा अमेरिका जित्न नसक्नु मात्र हो । अर्जेन्टिनाका लागि मेसीले आठ खेलमा मात्र चार गोल गरे र तीन एसिस्ट दिए । लगातार दुई वर्ष दुई ठूला उपाधिको नजिक पुगेर पनि अर्जेन्टिनाले जित्न सकेन । गत वर्ष कोपा अमेरिकामा अर्जेन्टिना विजयी नहुनुको दोष मेसीलाई मात्र दिन मिल्दैन । चिलीविरुद्घको फाइनल खेलको पेनाल्टी सुटआउटमा मेसीले कुनै गल्ती गरेनन् । यस्तो हारको दोष उनीमाथि मात्र थोपर्नु जायज हुँदैन । अर्जेन्टिनाका लागि कुनै ठूलो प्रतियोगिता जित्न नसकेकामा उनी आफैँ पनि खिन्न छन् । पाँचपल्ट बलुन डि’योर जितेपछि मेसीले पुरानै इच्छा दोहोर्‍याए, ‘मिल्ने भए मैले आफ्ना सबै बलुन डि’योरसँग एउटा विश्वकप साट्ने थिएँ ।’

अर्जेन्टिनाका लागि उनी भलै त्यति सफल नहोलान्, जति बार्सिलोनाका लागि भए । तर, क्लब लेबलमा उनको सफलता भेट्टाउन सायदै अरू कोही आउला । मेसी यस्तो समयका प्रभावशाली खेलाडी हुन्, जतिबेला फुटबल सबैभन्दा विकसित युगमा छ । अहिले उनीसँग तुलना गर्नलायक कोही छ भने ती खेलाडी रोनाल्डो मात्रै हुन् । जो आफैँमा फुटबलका अहिलेसम्मकै उत्कृष्टमध्येका एक हुन् । २८ वर्षकै उमेरमा मेसीले पाँच बलुन डि’योर जितेर रोनाल्डोले उनलाई भेट्टाउने सपनामा धक्का दिएका छन् । मेसीपछि बढी बलुन डि’योर रोनाल्डो, मिचेल प्लाटिनी, योहान क्रोएफ र मार्को भान बास्टेनले तीनपटक जितेका छन् । त्यसमध्ये रोनाल्डो मात्रै अझै खेलिरहेका खेलाडी हुन् । यही उमेरमा मेसी बार्सिलोनाका (४ सय ३०) र लालिगाका (२ सय ९५) सर्वाधिक गोलकर्ता पनि हुन् । च्याम्पियन्स लिगमा उनी सर्वाधिक गोलकर्ता रोनाल्डोभन्दा आठ गोलले पछि छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्नेमा उनीभन्दा बाटिस्टुटा सात गोलले मात्रै अघि छन् ।

सन् २००७ यता लगातार नौपटक वर्ष खेलाडीको उत्कृष्ट तीन जनामा उनको नाम छुटेको छैन । २०१२ मा ९१ गोल गरेर उनले विश्व कीर्तिमान पनि राखे । लालिगाको लगातार २१ खेलमा गोल गर्ने पनि मेसी मात्रै छन् । बार्सिलोनाबाट उनले इनिएस्टासँगै २६ उपाधि जितेका छन् । असम्भव लाग्ने यस्ता कैयौँ कीर्तिमान मेसीका नाममा छन् । अहिले उनी मात्र २८ वर्षका छन् र खेलमा उनको लय र प्रभाव झन् बढ्दो देखिन्छ । अहिले उनले जितेका उपाधि उनका लागि अन्तिम पक्कै होइनन् । कम्तीमा अझै सात–आठ वर्ष उनी खेल्न सक्छन् । त्यसबेला उनले अझै कति उपाधि र कीर्तिमान थप्छन्, त्यो कसैलाई पनि थाहा छैन । 


No comments:

Post a Comment