यो किशोरवयमा गरिने उट्याङपट्याङ मात्र होइन । झट्ट हेर्दा ठट्यौलीजस्तो लाग्ने स्केटबोर्डिङ साहस, सिर्जनशीलता र एकग्रता मिश्रित बेजोड कला हो । शरीरको भार थामेर खुट्टाको सन्तुलनले विभिन्न कला प्रस्तुत गर्नु यसका खास आकर्षण हुन् ।
मिलन शाह ठकुरीको बुझाइ यो ‘स्टाइलिस खेल’ हो, जसमा स्केटरले आफ्नो क्रिएटिभिटी मिसाउन सक्छन् । ठकुरी भन्छन्– ‘यो मस्तिष्क र खुट्टाको खेल हो ।’ गुडिरहेको स्केटबोर्डलाई हावामा उडाउनु, फनफनी घुमाउनु र कलात्मक ढंगले ल्यान्डिङ गराउनु स्केटबोर्डिङको रोमाञ्चक पक्ष हो ।
‘जब बत्तिएको स्केटबोर्डसँगै हावामा उडिन्छ’ मिलन भन्छन्– ‘त्यो अनुभव एकदमै सुखद र दुर्लभ हुन्छ ।’ अग्लो स्थानबाट स्केटबोर्ड उडाएर हाम फाल्नु र सतहमा सुरक्षित ढंगले ल्यान्ड गर्नु पनि विछट्टै रोमाञ्चक हुने उनको अनुभव छ । त्यसो त स्केटबोर्डिङ खेल्न जति जोखिमपूर्ण हुन्छ, हेर्न उत्तिकै रमाइलो । अनपेक्षित र आश्चर्यजनक ढंगले देखाउने स्टन्टले जो–कोहीलाई चकित तुल्याउँछ ।
स्केटबोर्डिङ खेल मात्र पनि होइन । यसलाई यतायातको साधनका रूपमा समेत प्रयोग गर्न सकिन्छ । सहरी क्षेत्रका कतिपय किशोरले कतै आउजाउ गर्नका लागि स्केटबोर्डकै साहरा लिने गरेका छन् । ‘हामीसँग मोटरसाइकल हँुदैन, सार्वजनिक यातायात चढ्न झ्याउ लाग्छ,’ मिलन भन्छन्– ‘त्यसैले कतै जाँदा स्केटबोर्डमा हुइँकिनुपर्छ ।’
हुन पनि स्केटबोर्डको विकासक्रम यातायातको साधनकै रूपमा भएको हो । सन् १९७० को दशकमा विकास गरिएको स्केटबोर्डिङले कालान्तरमा खेलको रूप लियो । यसलाई तन्नेरीहरूले साहसिक खेलका रूपमा स्वीकार गरे र त्यसमा अभ्यस्त हँुदै गए । त्यसबाट अछुतो रहेन्न, नेपाली तन्नेरी पनि ।
नेपालमा स्केटबोर्डिङको इतिहास त्यति लामो भने छैन । यद्यपि छोटो अवधिमै स्केटबोर्डिङले यति लोकप्रियता पायो कि, अहिले टोलटोलमा यो खेल खेल्न थालिएको छ । यसको छुट्टै प्रतियोगिता हुन थालेको छ । स्केटबोर्ड उपलब्ध गराउने बिक्री केन्द्रसमेत स्थापना भएको छ । यसबाट स्केटबोर्डिङमा रमाउने जमात थप हौसिएको पाइन्छ ।
कोटेश्वरका युवाहरूको समूह ‘परिवर्तनका लागि युवा’ले स्केटबोर्डिङलाई संस्थागत रूपमै अघि बढाइरहेका छन् । यस अन्तर्गत ‘क्रिपटिक क्र्यु’ नामको छुटै स्केटरहरूको ग्रुप छ । उनीहरूले बेला–बेला यसको प्रतियोगिता समेत सञ्चालन गरिरहेका छन् । पोखरामा स्केट किंग्स, चितवनमा तेइएइ स्केट क्र्यु, धरानमा स्केटबोर्डिङ क्रियु सक्रिय छन् ।
स्केटबोर्डिङको क्रेज अकास्सिएसँगै स्केटरका लागि आवश्यक स्केटबोर्ड जस्ता सामग्री पाइने पसलसमेत खुल्न थालेका छन् । भर्खरै मात्र स्वयम्भूमा हाम्रो स्केट सप खुलेको छ भने पोखरामा यसअघि नै पोखरा स्केट सप खुलिसकेको छ । ‘यसअघि स्केटबोर्ड विदेशबाट मगाउनुपथ्र्यो,’ स्केटबोर्डिङको प्रवद्र्धनमा लागिरहेका जागृत पहाडी भन्छन्– ‘अहिले यही पसल खुल्न थालेपछि सहज भएको छ ।’ पहाडी ‘परिवर्तनका लागि युवा’ समूहका अध्यक्ष हुन् । नेपाली बजारमा ४ हजारदेखि १० हजार रुपैयाँसम्मको स्केटबोर्ड पाइने पहाडीले बताए ।
फ्री स्टाइल
स्केटबोर्डिङ आफैंमा एक ‘एक्सन स्पोर्ट्स’ हो । यसको छुट्टै नियम, प्रक्रिया र शैली हुन्छ । यो फ्री स्टाइल खेल हो, जसमा खेलाडीले आफ्नो खुबीअनुसार स्टन्ट गर्न सक्ने स्वतन्त्रता हुन्छ । स्केटरले आफ्नो मर्जीअनुसार स्केटबोर्ड नचाउन सक्छन् ।
यसका केही प्रचलित स्टन्ट छन् । जस्तो बेस लाइन ट्रिक, गेम अफ स्केट, स्केट जाम, हाई अली, लङ अली । बेस लाइन ट्रिकमा स्केटरले आफ्नो मर्जीअनुसारको फ्री स्टाइल स्टन्ट प्रस्तुत गर्न सक्छन् । एउटा स्केटरले देखाउने स्टन्टलाई फलो गर्नुलाई चाहिँ गेम अफ स्केट भनिन्छ । त्यस्तै, स्केट जाममा समूह–समूह बनाएर एकसाथ मैदानमा प्रवेश गर्छन् र एकले अर्कालाई उछिन्न विभिन्न स्टन्ट गर्नुपर्छ । यो ‘भाले फाइट’ शैलीको हुन्छ । हाइ अली चाहिँ स्केटर र स्केटबोर्डले कुनै वस्तुलाई जम्प गर्नु हो । लङ अलीमा स्केटबोर्डसँगै स्केटरले उफ्रिएर लामो दूरी पार गर्न सक्नुपर्छ । स्केटबोर्ड खेल्न स्केटपार्क वा र्याम्प आवश्यक हुन्छ । स्केट पार्क खुला र समतल हुन्छ । र्याम्प चाहि अंग्रेजी वर्णमालाको ‘यू’ सेपको हुन्छ ।
यो पनि खेल ?
छिमेकी मुलुक भारतमा सन् २००९ मा जम्मा तीनवटा स्केट पार्क थियो । त्यो संख्या बढेर अहिले दुई दर्जनको हाराहारीमा पुगिसकेको छ । ‘त्यहाँ एकदमै तीव्र गतिमा यो खेलको विकास एवं विस्तार भैरहेको छ,’ मिलन भन्छन् ।
नेपालमा स्केटबोर्डिङका लागि एउटा मात्र स्केट पार्क निर्माण भएको छ, पोखरामा । अन्यत्र स्केट पार्क छैन, त्यसैले स्केटरहरूले खुला स्थान खोज्दै खेल्नुपर्ने बाध्यता छ । स्केट पार्कको अभावकै कारण स्केटबोर्डिङका लागि खुला सडकमै उत्रनुपर्ने अवस्था छ । यद्यपि सडक अनुशासनविपरीत हुने भएकाले उनीहरू खुलमखुला सडकमा स्केटबोर्डिङ गर्न सक्दैनन् । ‘त्यसरी स्केटबोर्डिङ गर्दा प्रहरी चौकी समेत पुग्नुपरेको छ,’ मिलन भन्छन्– ‘हामीले स्वतन्त्र रूपमा यो खेल खेल्न पाएका छैनौं ।’ त्यसैले स्केटरहरू नेपाल बन्द भएको बेला खुला सडकमा ओर्लिन्छन् । त्यस्तै, बास्केटबल कोर्ट भाडामा लिएर खेल अभ्यास गर्छन् । स्केटबोर्ड खेल्न विशेष किसिमको हेलमेट, कुहिनोमा लगाउने एल्वो प्याड, घुँडाको नि प्याड र खुट्टाको सुरक्षाका लागि आवश्यक स्केटबोर्डिङ सुज चाहिन्छ । यद्यपि नेपाली बजारमा यस्ता ‘इक्वुपमेन्ट’ उपलब्ध छैनन् । यस्ता अभावका बाबजुद यहाँका किशोर/किशोरी स्केटबोर्डिङ गरिरहेका छन् ।
यसलाई संस्थागत र व्यवसायिक बनाउन केही युवा लागिपरेका छन् । उनीहरू कहिले दर्ताका लागि राष्ट्रिय खेलकुद परिषद् त कहिले प्रचारका लागि विद्यालय पुग्ने गरेका छन् । यद्यपि त्यसबाट सकारात्मक नतिजा हात परेको छैन । ‘यस्तो पनि खेल हुन्छ र भन्दै आशंका व्यक्त गर्छन्,’ सन्तोष टण्डन भन्छन्– ‘यसलाई खेलका रूपमा कसैले स्वीकार गरेका छैनन् ।’ स्केटबोर्डिङलाई खेलका रूपमा स्वीकार नगर्नुको कारण पनि छ । जस्तो कि, यो नेपाली परिवेशमा एकदमै नयाँ अभ्यास हो, जो दुई/तीन वर्ष यता देख्न थालिएको हो । यसका व्यवसायिक खेलाडी छैनन् र प्रतियोगिता पनि खासै भएका छैनन् ।
यसरी भित्रियो नेपालमा
नेपालमा स्केटबोर्डिङको ट्रेन्ड भित्रिएको एक दशक पनि नाघेको छैन । स्केटरहरूका अनुसार ७ वर्षअघि यो खेल भित्रिए पनि दुई/तीन वर्ष यता मात्र यसको क्रेज बढेको हो । अत: नेपाली परिवेशमा स्केटबोर्डिङको ट्रेन्ड सुरु गर्ने श्रेय जान्छ, पोखराका रामसिं कोइरालालाई ।
पोखराका रामसिंले सानै छँदा स्केटबोर्ड गिफ्ट पाएका थिए, एक विदेशीबाट । उनी जति–जति बढ्दै गए स्केटबोर्डमा अभ्यस्त हुँदै गए । पछि उनले यसैलाई करियरका रूपमा अँगाले । अहिले रामसिंले पोखरामा स्केटबोर्ड बिक्री गर्ने ‘पोखरा स्केटबोर्ड सप’ खोलेका छन् भने स्केट पार्क पनि निर्माण गरेका छन् ।
विदेशी स्पोन्सरको साथ
अनेकौं समस्याका बाबजुद नेपालका किशोर/किशोरीहरू स्केटबोर्डिङमा व्यवसायिक ढंगले लाग्ने प्रयासमा छन् । उनीहरूले स्केटबोर्डिङका निम्ति छुट्टा–छुट्टै समूह बनाएका छन् । त्यही समूहअन्तर्गत खेलको नियमित अभ्यास गर्छन् । बेला–बेला प्रतियोगिता गरेर आपसमा भिँड्छन् । स्केटबोर्डिङको भिडियो बनाएर युट्युबमा अपलोड गर्छन् । अहिले उनीहरू सानो वृत्तचित्र बनाउने क्रममा छन् । ‘स्केटबोर्डिङमा नेपाली परिवेश र परिस्थिति झल्काउने उदेश्य हो,’ जागृत भन्छन्– ‘यसले स्केटबोर्डिङ प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।’
त्यसो त नेपाली परिवेशमा नपत्याइएको यही खेलका खेलाडीलाई विदेशी कम्पनीहरूले स्पोन्सर गरिरहेको उदाहरण पनि छ । कोटेश्वरका स्केटर मिलनलाई भारतको हल अपेरियर इन्डिया क्लोथिङ कम्पनीले स्पोन्सर गरेको छ । स्पोट्र्स वेयर उत्पादन गर्ने यो कम्पनीले उनलाई स्केटबोर्डिङका लागि आवश्यक पहिरन उपलब्ध गराउँछ । यही कम्पनीमार्फत नै उनले केही समयअघि भारतमा स्केटबोर्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यस्तै, थाइल्यान्ड ह्वाइट लाइन स्केट बोर्डिङ एआईले उनलाई वर्षभरका लागि स्केटबोर्ड उपलब्ध गराइरहेको छ ।
No comments:
Post a Comment